काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढेको छ। जनक शिक्षा सामग्री केन्द्रका अनुसार हालसम्म कुल १ करोड ४२ लाख ८ हजार थान मतपत्र छाप्ने कार्य सम्पन्न भएको छ।
केन्द्रले पछिल्लो २४ घण्टामा मात्रै ११ लाख १६ हजार थान मतपत्र छापेको जानकारी दिएको छ। निर्वाचनका लागि कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र आवश्यक पर्नेमा बाँकी छपाइ कार्य पनि निरन्तर भइरहेको छ। हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने १ करोड ९८ हजारभन्दा बढी नमूना मतपत्र निर्वाचन आयोगलाई हस्तान्तरण गरिएको छ।
यसैबीच, आयोगले आजै प्रतिनिधि सभाका उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्दैछ। निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी अपराह्न ४ देखि साँझ ७ बजेसम्म चुनाव चिह्न वितरण गरिने आयोगले जनाएको छ।




