काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशभरको मौसममा सामान्य बदलाव आएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागिरहेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
महाशाखाले आज दिउँसो तराईका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरेको छ। देशभर आंशिक बदली रहने भए पनि गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा हुनसक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ। बाँकी भूभागमा भने मौसम आंशिक बदली रहनेछ। तराईमा हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम हुन सक्ने भएकाले यात्रा गर्दा र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





