काठमाडौँ । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रसाईंलाई पक्राउ गरी अहिले भद्रकालीस्थित परिसरमा राखिएको छ।
आगामी फागुन २१ गते हुन लागेको निर्वाचन विथोल्ने गतिविधिमा संलग्न हुन लागेको आशङ्कामा प्रहरीले उनलाई निगरानीमा राख्दै आएको थियो। यसअघि पनि विभिन्न विवादास्पद अभिव्यक्ति र निर्वाचनसम्बन्धी टिप्पणीका कारण उनी माघ ५ गते पोखराबाट र माघ २३ गते काठमाडौँबाट पक्राउ परेका थिए।
पछिल्लो पटक हाजिर जमानीमा छुटेका प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले समेत अनुसन्धानको घेरामा राखेको थियो। निर्वाचनलाई लक्षित गरी उनले सुरु गर्न लागेको अभियानले सुरक्षा चुनौती थप्न सक्ने प्रहरीको विश्लेषण रहेको छ।





