धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री आइपुगेको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका लागि समानुपातिक र प्रत्यक्ष दुवैतर्फका मतपत्र आइपुगेका हुन्।
यी सामग्रीहरूलाई मङ्गलबारसम्म सम्बन्धित निर्वाचन क्षेत्रहरूमा पुर्याउने गरी धमाधम काम भइरहेको छ।
कैलालीमा कुल ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन्। निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री प्रदेश कार्यालयबाट र बाँकी १४ प्रकारका केन्द्रबाट आपूर्ति गरिएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेशभरिका ७३४ वडामा सोमबारदेखि मतदाता शिक्षा स्वयंसेवी परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। स्वयंसेवीहरूले विद्यालय र घरदैलोमार्फत फागुन १७ गतेसम्म मतदातालाई सही तरिकाले मतदान गर्नेबारे जानकारी दिनेछन्।
फागुन ६ गतेदेखि मतदान अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम समेत सञ्चालन हुने कार्यालयले जनाएको छ। सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा अहिले २०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।





