काठमाडौँ । भोलि बिहीबार (फागुन २१ गते) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै आज बुधबार राति १२ बजेदेखि देशभरका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षालाई कडाइ गर्न मतदान नसकिउन्जेलसम्मका लागि यो व्यवस्था लागू गरिएको हो।
निर्वाचन आयोगका अनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी बाहेक अन्य सबै प्रकारका सवारी साधन चल्न पाउने छैनन्। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी, खानेपानी र विद्युत मर्मतका सवारी जस्ता अति आवश्यक सेवाका साधनहरू भने निर्वाध रूपमा सञ्चालन हुनेछन्।
यस्तै, कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट विशेष सवारी पास प्राप्त गरेका साधनलाई पनि चल्न दिइनेछ। आयोगले सम्पूर्ण मतदाता र यात्रुहरूलाई सवारीसाधन बन्द हुनुअगावै आ-आफ्नो गन्तव्यमा पुग्न आग्रह गरेको छ। निर्वाचन अवधिमा कुनै समस्या परेमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न समेत सूचित गरिएको छ।







