काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ। आज आइतबार बिहान ६:१५ बजेसम्मको नतिजाअनुसार रास्वपाले १०० निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने थप २५ क्षेत्रमा अग्रता कायम राखेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म १२९ स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कांग्रेस १४ स्थानमा विजयी हुँदै २ स्थानमा अगाडि छ। नेकपा एमाले ७ स्थानमा विजयी भएको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ। यस्तै, पूर्वप्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले ६ स्थानमा जित निकालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित हासिल गरेका छन् भने श्रम संस्कृति पार्टीका ३ उम्मेदवारले अग्रता लिइरहेका छन्।
समानुपातिकतर्फको अवस्था:
समानुपातिकतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मत गणना भएको छ। जसमा रास्वपा १० लाख ४६ हजार मतसहित पहिलो स्थानमा छ। नेपाली कांग्रेस ३ लाख ४७ हजार मतसहित दोस्रो, नेकपा एमाले २ लाख ७५ हजार मतसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १ लाख २१ हजार मतसहित चौथो स्थानमा रहेका छन्।





