काठमाडौँ । सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद हाल रिक्त रहेको छ। सोही रिक्त पदमा अर्याललाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
हाल सुशीला कार्की नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सरकारले अघि सारेको हो। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभाका सदस्यहरू मनोनीत हुने गर्दछन्। मन्त्रिपरिषद्को यो निर्णयसँगै अब अर्यालको राष्ट्रिय सभा सदस्यमा मनोनयनको प्रक्रिया अघि बढेको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यसलाई महत्त्वका साथ हेरिएको छ। राष्ट्रिय सभामा रिक्त रहेको उक्त स्थानमा सरकारले बहालवाला मन्त्रीलाई नै पठाउने निर्णय गरेपछि यसले थप चासो सिर्जना गरेको हो। अब राष्ट्रपतिबाट नियुक्त भएपछि मात्र उहाँको राष्ट्रिय सभा सदस्यको पद औपचारिक रूपमा कायम हुनेछ।







