पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि: पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उच्च मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनमा परेको दबाबका कारण बाध्य भई मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ। निगमको सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो। यो नयाँ मूल्यसूची चैत १ गते बिहान ००:०१ बजेदेखि देशभर लागू भएको छ।

मूल्य वृद्धिपश्चात् काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ। त्यस्तै, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोलको मूल्य १७१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज (पहिलो वर्ग) मा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा पुगेको छ।

निगमले पछिल्लो समय मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको आकस्मिक वृद्धिलाई यसको मुख्य कारण मानेको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यसूचीका आधारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ। यति ठूलो मूल्य वृद्धि गर्दा पनि निगमलाई अझै पनि पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।

सार्वजनिक सवारी साधन र ढुवानीमा पर्ने असरलाई ध्यानमा राख्दै निगमले सकेसम्म न्यूनतम मूल्य वृद्धि गरी ‘अधिकतम लचकता’ अपनाउने प्रयास गरेको दाबी गरेको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै तत्काल मूल्य घटाउने नीति लिने प्रतिबद्धता व्यक्त गर्दै निगमले उपभोक्ता तथा सरोकारवालाहरूसँग यस विषम परिस्थितिमा सहयोगका लागि आग्रह गरे

को छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा