काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। केही दिनयता लगातार घट्दो क्रममा रहेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रतितोला ७ हजार ८०० रुपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उत्तारचढाव र डलरको विनिमय दरमा भएको परिवर्तनका कारण स्थानीय बजारमा पनि यसको प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन्। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय १५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ तोकिएको छ। सुन र चाँदी दुवैको मूल्यमा आएको यो गिरावटले पछिल्लो समय लगानीकर्ता र उपभोक्ताहरूमा नयाँ तरङ्ग पैदा गरेको छ।
विशेष गरी विवाह र लगनको सिजन नजिकिँदै गर्दा मूल्यमा आएको यो ठुलो गिरावटले सर्वसाधारणलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ। यद्यपि, बजारमा अझै पनि मूल्य स्थिर हुने सुनिश्चितता नरहेकाले खरिदकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्। व्यवसायीहरूका अनुसार विश्वव्यापी आर्थिक मन्दी र भूराजनीतिक तनावका कारण आगामी दिनमा पनि सुनको मूल्यमा थप उत्तारचढाव आउन सक्ने सम्भावना कायमै छ।





