काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुभएको हो।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित २७४ जना सांसदहरूलाई केसीले पदको शपथ दिलाउनुभएको हो। यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। संवैधानिक व्यवस्थाअनुसार ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ गराउनुपर्ने प्रावधान बमोजिम आजको कार्यक्रम सम्पन्न भएको हो।
शपथ ग्रहण समारोहमा मुलुकको विविधता झल्किने दृश्य देखिएको थियो। सांसदहरू आ-आफ्नो जातजाति र समुदायको पहिचान झल्किने परम्परागत र सांस्कृतिक पोसाकमा सजिएर सिंहदरबार पुगेका थिए। अधिकांशले नेपाली भाषामा शपथ लिए पनि केही सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिएर भाषिक विविधताको सम्मान गरेका थिए।
संसद् सचिवालयका अनुसार शपथ ग्रहणपछि सांसदहरूलाई लोगो (पिन), संविधानको प्रति र संसदीय नियमावलीसहितको स्रोत सामग्री उपलब्ध गराइएको छ। आजको शपथसँगै नयाँ प्रतिनिधिसभाले औपचारिक कार्यप्रारम्भ गरेको छ भने अब नयाँ सरकार गठन र सभामुख-उपसभामुख चयनको प्रक्रिया अघि बढ्नेछ। स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन शाहले भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तयारी छ।





