काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग विशेष अन्तरक्रिया गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजेका लागि तय गरिएको यस कार्यक्रममा विभिन्न दलका समानुपातिक सांसदहरूको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अन्तरक्रिया कार्यक्रममा सांसदहरूले आ-आफ्नो ‘क्लस्टर’ (वर्ग वा समुदाय) का विद्यमान समस्या, चुनौती र तिनका समाधानका उपायबारे आफ्नो धारणा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गर्ने सांसदहरूका आवाजलाई प्रत्यक्ष रूपमा सुन्न र नीति निर्माणमा उनीहरूको अनुभवलाई समेट्न यो छलफल महत्त्वपूर्ण हुने देखिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यस संवादको मुख्य उद्देश्य जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु हो। यसले नीति निर्माण प्रक्रियालाई थप समावेशी बनाउनुका साथै सरकारी योजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। बालेन शाह नेतृत्वको सरकारले सदनमा रहेका सबै शक्ति र समुदायको भावनालाई एकीकृत गर्दै सुशासनको मार्गमा अघि बढ्न यो नयाँ शैलीको अन्तरक्रिया सुरु गरेको हो।





