काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकको मौसममा मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादलको लुकामारी चलिरहेको छ भने तराईका जिल्लाहरूमा टन्टलापुर घामसँगै गर्मी बढ्न थालेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ।
आज शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का हिमपातको प्रक्षेपण गरिएको छ। पहाडी भेगमा आंशिक बादल लागे पनि तराई क्षेत्रको मौसम भने सामान्यतया सफा रहने देखिन्छ।
पहाडमा वर्षाको सम्भावना रहँदा तराई र भित्री मधेसमा भने गर्मीको राप बढ्ने सङ्केत देखिएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेकाले तापक्रम बढ्दा जनजीवन प्रभावित हुन सक्ने देखिन्छ। महाशाखाले बदलिँदो मौसम र बढ्दो गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असरप्रति सजग रहन र पहाडी क्षेत्रमा हुने चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।





