काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दोहोरो अंकको गिरावट देखिएको छ । अघिल्लो दिन बुधबार ३३.२७ अंकले बढेर उत्साह जगाएको बजारमा आज ठ्याक्कै उल्टो प्रभाव देखिँदै परिसूचक ३३.८३ अंकले ओरालो लागेको हो ।
१.१८ प्रतिशतले घटेकाे नेप्से परिसूक आज २८ सय ३३ दशमलव ०३ बिन्दुमा राेकिएकाे छ। यो गिरावटसँगै बजारका सबै उपसूचकहरू राताम्मे भएका छन् ।
बजार ओरालो लाग्दा आज फाइनान्स र अन्य समूहमा सबैभन्दा बढी गिरावट आएको छ । तथ्याङ्कअनुसार फाइनान्स समूह १.९८ प्रतिशत र अन्य समूह १.९० प्रतिशतले घटेका छन् । यस्तै उत्पादन तथा प्रशोधन १.५४, जलविद्युत् १.५१, निर्जीवन बीमा १.२८, लगानी १.२७, विकास बैंक १.१५ र व्यापार समूहको उपसूचकमा १.०१ प्रतिशतको गिरावट दर्ता भएको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । बुधबार १० अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्ब २२ करोड रुपैयाँले घटेको देखिन्छ ।
आज कुल २३६ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ३१ कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन् । समग्र बजार घटे पनि रिजब्लु इनर्जी र सूर्यकुण्ड हाइड्रो इनर्जीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा पनि ९.९९ प्रतिशतको उच्च वृद्धि देखिएको छ ।





