इन्धनको मूल्यवृद्धिप्रति उज्यालो नेपाल पार्टीको आपत्ति: पेट्रोल २१९ र डिजेल २३७ पुगेकोमा तत्काल घटाउन माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा भइरहेको निरन्तर मूल्यवृद्धिप्रति कडा आपत्ति जनाएको छ। पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेपछि इन्धन बजारमा स्थिरता आउनुपर्ने जनअपेक्षा रहे पनि सरकार गठनपछि पटक-पटक मूल्य बढाइएको भन्दै चिन्ता व्यक्त गरेको हो। हाल काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २१९ र डिजेलको मूल्य २३७ रुपैयाँ पुगेको छ।

विज्ञप्तिमा इन्धनको मूल्यवृद्धिले यातायात, कृषि, उद्योग र विद्यालयदेखि सर्वसाधारणको भान्छासम्म श्रृंखलाबद्ध असर पुर्‍याउने उल्लेख गरिएको छ। उज्यालो नेपाल पार्टीले भारतको सीमावर्ती बजार रक्सौलको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटर ४८ र डिजेल ८८ रुपैयाँसम्म महँगो भएको तथ्य प्रस्तुत गर्दै यसले सीमा क्षेत्रमा अवैध कारोबार र चोरीपैठारीलाई प्रोत्साहन गर्ने चेतावनी दिएको छ। दक्षिण एसियाका अन्य देशले कर समायोजन र अनुदानमार्फत राहत दिए पनि नेपाल सरकारले कुनै रणनीतिक हस्तक्षेप नगरेको पार्टीको आरोप छ।

पार्टीले सरकारसमक्ष ६ बुँदे माग राख्दै पेट्रोलियम पदार्थमा लागेका कर तथा भन्सार शुल्क पुनरावलोकन गरी मूल्य घटाउन, मूल्य स्थिरकरण कोषको प्रयोग गर्न र नेपाल-भारत सीमाको मूल्य अन्तर घटाउन माग गरेको छ। साथै, विद्युतीय सवारी र चुलोमा सहुलियत दिएर आयातित इन्धनमाथिको निर्भरता घटाउन र आयल निगमको नाफा-नोक्सानको विवरण पारदर्शी बनाउन समेत सरकारको ध्यानाकर्षण गराइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा