काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको भाइ मसला (ड्राइ फ्रुट्स) नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा विभिन्न मुलुकबाट काजु, बदाम, ओखर, किसमिस, पेस्ता, नरिवल लगायतका सुक्खा फलफूल आयात भएको हो ।
विशेषगरी तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई कोसेलीका रूपमा भाइ मसला दिने परम्परा रहेकाले यस याममा यस्ता ड्राइ फ्रुट्सको माग र खपत व्यापक हुने गर्दछ । नेपालमा यस्ता वस्तुहरूको व्यावसायिक उत्पादन न्यून रहेकाले चाडपर्वका बेला बर्सेनि अर्बौँ रुपैयाँ विदेशिने गरेको छ ।
काजु र बदाममा मात्रै १ अर्ब ४१ करोड बढी बाहिरियो :
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६ लाख ८८ हजार ३२४ केजी काजु आयात भएको छ, जसको कुल मूल्य ६८ करोड ३२ लाख ४३ हजार रुपैयाँ रहेको छ । काजु आयातबाट सरकारले २० करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । मुख्यतया भारत र भियतनामबाट काजु आयात हुने गरेको छ ।
त्यसैगरी, सोही अवधिमा ८ लाख ६७ हजार ४५० केजी बदाम (Almonds) आयात भएको छ । यसको मूल्य ७२ करोड ८४ लाख २९ हजार रुपैयाँ पुगेको छ भने सरकारले १७ करोड ६१ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भित्रिने बदामको ठूलो हिस्सा संयुक्त राज्य अमेरिकाबाट आउने गर्दछ ।
ओखर र किसमिसको आयात अवस्था :
चालु आवको तीन महिनामा १५ लाख २५ हजार ५३३ केजी ओखर आयात भएको तथ्यांक छ, जसको मूल्य ६५ करोड ३९ लाख २४ हजार रुपैयाँ छ । ओखरबाट राज्यले १५ करोड ८९ लाख ९८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । त्यस्तै, १० लाख ९८ हजार ६७६ केजी किसमिस आयात भएको छ, जसको लागत ३८ करोड ३१ लाख ५६ हजार रुपैयाँ छ र यसबाट ९ करोड २७ लाख राजस्व उठेको छ । किसमिस मुख्यतया चीन र भारतबाट आयात हुने गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल ४ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको ड्राइ फ्रुट्स आयात गरेको थियो, जसबाट राज्यले १ अर्ब १५ करोड ४४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको थियो । चाडपर्व नजिकिँदै जाँदा बजारमा भाइ मसला र फूलमालाको कारोबार थप तीव्र बनेको छ ।





