काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार (कार्तिक २० गते) देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसोको मौसमी अवस्था :
शुक्रबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने मधेश र तराईका अधिकांश क्षेत्रमा घाम लाग्नेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनबिना हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
रातिको मौसम र हिमपातको आकलन :
राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा तराई भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ । यस अवधिमा कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा उच्च भू-भागमा हिमपात हुन सक्नेछ ।
बिहानीपख हुस्सु र कुहिरोको प्रभाव :
यसैबिच, तराईका भू-भाग, नदी तटीय क्षेत्र तथा पहाडी उपत्यकाहरूमा बिहानपख हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कुहिरोका कारण बिहानी समयमा भिजिबिलिटी कम भई सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।





