काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो महान् चाड तिहार तथा यमपञ्चकको पहिलो दिन आज (शुक्रबार) धनत्रयोदशी अर्थात् धनतेरस पर्व श्रद्धा र उल्लासपूर्वक मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीको दिन मनाइने यस पर्वमा विशेष गरी माता लक्ष्मी, धनका अधिपति कुबेर र आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको पूजाआराधना गरिन्छ ।
पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा अमृत कलश लिएर भगवान् धन्वन्तरि प्रकट भएको दिन भएकाले आजको दिनलाई स्वास्थ्य, आयु र समृद्धिको प्रतीकका रूपमा लिइन्छ । आजको दिन नयाँ धातुका भाँडाकुँडा, सुन, चाँदी तथा पूजाका सामग्री किनेर घर भित्र्याएमा वर्षभरि धनधान्य र ऐश्वर्यको कमी नहुने जनविश्वास छ ।
धनतेरसमा किनमेलको शुभ महत्त्व :
धनतेरसका अवसरमा विशेष गरी तामा, पित्तल, काँस वा स्टिलका भाँडाकुँडा खरिद गर्ने चलन छ । गच्छेअनुसार सुन वा चाँदीको सिक्का, कमलको फूलमा बसेकी माता लक्ष्मी तथा गणेशजीको प्रतिमा, कौडी, कमलगट्टा र सिङ्गो धनियाँ किनेर घरको ईशान कोणमा राख्नु अत्यन्त फलदायी मानिन्छ । आज खरिद गरिएका यी पवित्र सामग्रीहरूलाई लक्ष्मीपूजाको दिन विशेष पूजामा सामेल गर्ने गरिन्छ ।
साँझ यमदीपदान सुरु :
यसैबिच, आज साँझदेखि तिहारको औपचारिक सुरुवात स्वरूप ‘यमदीपदान’ पनि गरिन्छ । परिवारको सुख, शान्ति र अकाल मृत्युबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ घरको मूल ढोका अगाडि दक्षिण दिशातर्फ फर्काएर तेलको पाला बाली यमराजको आराधना गरिन्छ । यससँगै पाँच दिनसम्म चल्ने यमपञ्चक उत्सव सुरु भएको छ ।





