काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज नेपालका विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई आमन्त्रण गरिएको छ।
बैठकमा विशेषगरी उच्च शिक्षा क्षेत्र र प्राज्ञिक प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या, तिनको समाधानका उपाय र शैक्षिक गुणस्तर सुधारका विषयमा विमर्श हुनेछ। प्रधानमन्त्री शाहले कतिपय तत्कालै समाधान गर्न सकिने प्रशासनिक र कानुनी उल्झनका बारेमा पनि उपकुलपतिहरूसँग प्रत्यक्ष सुझाव लिने कार्यसूची रहेको छ।
छलफलमा त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, नेपाल संस्कृत, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरूको सहभागिता रहनेछ। यस्तै कृषि तथा वनविज्ञान, राजर्षि जनक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नेतृत्वसँग पनि प्रधानमन्त्रीले संवाद गर्नुहुनेछ। प्रतिष्ठानतर्फ नास्ट, नास्ट (चिकित्सा विज्ञान), पाटन, विपी कोइराला, कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले छुट्टाछुट्टै र सामूहिक छलफल गरी निकासको मार्गचित्र तयार पार्नुहुनेछ।




