काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सर्किट ब्रेकको नयाँ नियम कार्यान्वयनमा ल्याएकै दिन बजार परिसूचक १३.१७ अंकले ओरालो लागेर २८२५.२३ विन्दुमा कायम भएको हो। आज (सोमबार) देखि लागू गरिएको नयाँ सर्किट व्यवस्थाप्रति लगानीकर्ताहरू खासै उत्साहित नदेखिँदा त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको हो।
बजार सूचकसँगै सोमबार कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएकोमा आज त्यो खुम्चिएर ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ। दिनभर कुल ३४९ कम्पनीका १ करोड १६ लाख ५३ हजार कित्ताभन्दा बढी सेयरहरू खरिद-बिक्री भएका छन्।
क्षेत्रगत रूपमा हेर्दा आज होटल तथा पर्यटन बाहेकका सबै उपसूचकहरू राताम्मे बनेका छन्। होटल तथा पर्यटन क्षेत्रको उपसूचकमा भने १.०१ प्रतिशतको सामान्य सुधार देखिएको छ। नेप्सेले नयाँ कम्पनीको सूचीकरण पछिको पहिलो कारोबारमा मूल्य सीमा २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको छ भने एकल कम्पनीको दैनिक मूल्य घटबढ हुने सीमा (Price Band) लाई साविकको १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरेको छ।
बजार ओरालो लागे पनि नयाँ मूल्य सीमाको फाइदा उठाउँदै केही कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ। सुर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको मूल्य पनि झन्डै १५ प्रतिशत (१४.९९%) ले बढेको छ। यसबाहेक झापा इनर्जी र रिज लाइन इनर्जीका लगानीकर्ताले क्रमशः ११.८८ र १०.९९ प्रतिशत नाफा कमाएका छन्। समग्रमा ६५ कम्पनीको सेयर मूल्य घटेर बजार बन्द भएको छ।




