काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको केन्द्रीय समिति बैठकले ९ बुँदे कार्यसूची पारित गर्दै महत्त्वपूर्ण सांगठनिक निर्णयहरू गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह निकट मानिने वरिष्ठ नेता भूपदेव शाहलाई पार्टीको नयाँ महामन्त्रीमा मनोनीत गरेको छ। नवनियुक्त महामन्त्री शाहलाई सरकार र पार्टीबीच समन्वय गर्ने मुख्य जिम्मेवारी सुम्पिएको छ। योसँगै सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली थपिएका छन्, जसले सचिवालयलाई १६ सदस्यीय बनाएको छ।
पार्टीका आन्तरिक संरचनालाई पूर्णता दिने क्रममा बैठकले कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा महाधिवेशन कार्यविधि मस्यौदा समिति र विपिन कुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ। साथै, आगामी स्थानीय तहको निर्वाचनका लागि वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार आह्वान गर्ने निर्णय समेत भएको छ। बैठकले वैशाख १५ बाट सुरु हुने जिल्ला अधिवेशनको कार्यविधि पारित गर्नुका साथै प्रवासमा रहेका नेपालीहरूलाई मताधिकार दिलाउन सरकारलाई निर्देशन दिने निर्णय समेत गरेको छ।
यद्यपि, बिचौलियासँगको व्यावसायिक साझेदारीको आरोप लागेका गृहमन्त्री सुधन गुरुङको विषयमा भने बैठकमा कुनै औपचारिक छलफल भएन। प्रवक्ता मनिष झाले गृहमन्त्रीको विषय पूर्वप्रस्तावित एजेन्डामा नरहेकाले छलफल नगरिएको बताए पनि सभापति रवि लामिछानेले भने गुरुङको स्पष्टीकरण पार्टीमा प्राप्त भएको र त्यसलाई अध्ययन गरिरहेको जानकारी दिनुभएको छ। बैठकले विभिन्न जिल्लाबाट सल्लाहकार परिषद् र संघीय नेतृत्व मञ्चमा सदस्यहरू थप गर्दै सांगठनिक सुदृढीकरणलाई जोड दिएको छ।





