काठमाडौं। नेपाल र यूएईबीचको दुई खेलको टी–२० आई सिरिज १–१ को बराबरीमा सकिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै सिरिज बराबरी गरेको हो। सोमबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।
यूएईले दिएको १२९ रनको मध्यम लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै अविजित ८४ रन जोडे। ५७ बलको सामना गरेका उनले १२ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रनको योगदान दिए। बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रनको अर्धशतकीय पारी खेले भने मुहम्मद अर्फानले ३२ र अदीव उस्मानीले ३० रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। यस्तै, हेमन्त धामीले २ विकेट तथा नन्दन यादव र साहब आलमले समान १–१ विकेट हात पारे।





