काठमाडौँ । आज २०८३ वैशाख ९ गते बुधबार नेपालको पहाडी तथा हिमाली भेगमा बदली र तराईमा अत्यधिक गर्मीको मिश्रित प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा दिउँसो साधारणतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ।
आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली भेगमा मौसमी सक्रियता देखिए पनि देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
पहाड र हिमालमा वर्षाको सम्भावना रहँदा तराई क्षेत्र भने तातो हावा र गर्मीको चपेटामा पर्ने देखिएको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँचहरूमा आज ‘तातो दिन’ हुने सम्भावना छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (Heat Wave) चल्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। राति कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि अन्य क्षेत्रको मौसम सफा रहनेछ।





