काठमाडौँ । बागमती नदी किनारको सार्वजनिक जग्गामा रहेको थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन शनिबार बिहानैदेखि डोजर चलाइएको छ। सरकारी तथा सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचनाहरू हटाउने अभियानअन्तर्गत यो कदम चालिएको हो।
बस्ती खाली गराउन बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। सुरक्षाकर्मीको उपस्थिति लगत्तै बस्तीका बासिन्दाले आफ्ना सरसामानहरू सार्न थालेका थिए। यसपटकको अभियानमा रोचक दृश्य के देखिएको छ भने, घटनास्थलमा खटिएका प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमबासीहरूको सामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका छन्।
प्रहरीको यो सहयोगका कारण हालसम्म स्थिति शान्तिपूर्ण रहेको छ र बस्ती खाली गराउने कार्यमा सहजीकरण भएको छ। सुरक्षा व्यवस्था कडा पारिएकाले कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासन सतर्क देखिएको छ। बासिन्दाहरूले आफ्नो सामान सार्ने क्रम जारी रहेको र डोजरले अनधिकृत टहराहरू भत्काइरहेको जनाइएको छ।




