काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ। बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।
नेता प्रकाश ज्वालाका अनुसार आजको बैठकले पार्टीका नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा महत्त्वपूर्ण निर्णय लिनेछ। जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी) बीच सन्तुलन कायम गर्ने मापदण्ड बनाइएको छ। जसअनुसार कुनै प्रदेशमा एक पक्षले इन्चार्ज पाएमा अर्को पक्षले सह-इन्चार्ज पाउने गरी ‘क्रस-मोडल’ मा जिम्मेवारी तोकिनेछ।
बैठकले १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ। यसका साथै, चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ वडा तहदेखि नै अधिवेशनको प्रक्रिया अघि बढाउने गरी महाधिवेशनको मिति समेत तय हुन सक्ने नेता ज्वालाले जानकारी दिनुभयो। तल्लो तहका पालिका र जिल्लाको एकता एवं समायोजनको जिम्मा भने सम्बन्धित प्रदेशलाई नै दिने तयारी छ।




