चेन्नई । भारतको तमिलनाडु राज्यका राज्यपाल राजेन्द्र अर्लेकरले ‘तमिलगा भेत्री कलगम’ (टिवीके) का प्रमुख विजय थलपतिलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। विधानसभा निर्वाचनमा ठूलो दल बनेसँगै उनलाई सरकार गठनका लागि आह्वान गरिएको हो। मुख्यमन्त्रीको शपथ ग्रहण आज बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा हुने तय भएको छ भने उनले आगामी मे १३ भित्र विधानसभामा विश्वासको मत पेस गर्नुपर्नेछ।
तमिलनाडुमा सरकार गठनका लागि आवश्यक बहुमत जुटेपछि नेता विजयले राज्यपाल राजेन्द्र अर्लेकरसँग लोक भवनमा भेटवार्ता गरेका थिए। २ सय ३४ सिट रहेको तमिलनाडु विधानसभामा विजयको पार्टी टिवीकेले १ सय ८ सिट जितेको छ। विजय स्वयं दुई क्षेत्रबाट विजयी भएकाले एक सिटबाट राजीनामा दिँदा पार्टीको सङ्ख्या १ सय ७ मा झर्नेछ। यस्तो अवस्थामा बहुमतका लागि आवश्यक १ सय १७ सदस्यको समर्थन जुटाउन उनले गठबन्धनको सहारा लिएका छन्।
यसअघि शनिबार साँझ कंग्रेस, सीपीआई, सीपीएम, भीसीके र इन्डियन युनियन मुस्लिम लिग (आइयूएमएल) ले टिवीके सरकारलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका थिए। राज्यपालसँगको भेटपछि विजयले व्यक्तिगत रूपमा भारतीय कम्युनिस्ट पार्टी र मार्क्सवादी कम्युनिस्ट पार्टीका कार्यालयहरू पुगेर नेताहरूसँग भेटवार्ता गरेका थिए। चलचित्र क्षेत्रबाट राजनीतिमा होमिएका विजयको यो जित र सत्ता आगमनलाई भारतीय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।





