काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोग र मितिनी नेपालको सहकार्यमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका विषयमा शिक्षक–शिक्षिका र सरोकारवाला निकायका लागि आयोजित एकदिने कार्यशाला गोष्ठी आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। गौशालास्थित होटेल पौवामा आयोजित उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका साथै अन्य विभिन्न नगरपालिकाका विद्यालय तथा कलेजका शिक्षक–शिक्षिका र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यशालामा काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो, जसले स्थानीय तहमा लैंगिक समावेशिता र समुदायको अधिकार संरक्षणका लागि भएका प्रयासहरूबारे जानकारी गराउनुभएको थियो। सन् २००५ देखि लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको अधिकारका लागि क्रियाशील मितिनी नेपालले विशेष गरी विद्यालय स्तरमा कक्षा ७ देखि १२ सम्म अध्यापन गराउने शिक्षकहरूलाई लक्षित गरी यो गोष्ठी आयोजना गरेको हो। नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ ले यस समुदायको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न शैक्षिक क्षेत्रको भूमिका महत्वपूर्ण हुने सहभागीहरूले बताएका थिए।
कार्यक्रममा सहभागी विभिन्न पालिकाका शिक्षकहरूले विद्यालयमा लैंगिकमैत्री वातावरण निर्माण र अल्पसंख्यक विद्यार्थीहरूलाई विभेदमुक्त शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यशालाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्दै आएका आधारभूत मानव अधिकारको अभाव र सामाजिक चुनौतीहरूलाई न्यूनीकरण गर्न सरोकारवाला निकायहरूबीच समन्वय बढाउनुपर्नेमा जोड दिएको छ। यस किसिमका कार्यक्रमले समतामूलक समाज निर्माणमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।





