काठमाडौँ । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा अहिले साधारणतया बादल लागेको छ।
हाल कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहने र तराई भू–भागमा आंशिक बादल रहने महाशाखाले जनाएको छ। दिउँसो देशका हिमाली र पहाडी भेगका थोरै स्थानहरू तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
आज राति पनि मौसममा खासै सुधार हुने देखिएको छैन। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने देखिएको छ। वर्षासँगै उच्च हिमाली क्षेत्रका कतिपय स्थानमा हिमपातको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





