काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ। बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुण्डुमा बस्ने तय भएको छ। गत शुक्रबारदेखि जारी यस उच्चस्तरीय बैठकमा पार्टीको कार्यविभाजन र हालै सम्पन्न निर्वाचनको समीक्षाका क्रममा नेतृत्वको कार्यशैलीलाई लिएर गम्भीर मतभेद र आन्तरिक विवाद छताछुल्ल भएको छ।
एमाले उपमहासचिव एवं प्रवक्ता लेखराज भट्टका अनुसार बैठकमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहनेछ। आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी लगायतका बाँकी नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची छ। जारी बैठकमा बोल्ने अधिकांश शीर्ष नेताहरूले निर्वाचनमा व्यहोर्नु परेको परिणाम र सांगठनिक शिथिलताको आलोचना गर्दै अध्यक्ष ओलीलाई ‘मार्ग प्रशस्त’ (राजीनामा) गर्न सुझाव दिएपछि पार्टीभित्र तीव्र ध्रुवीकरण बढेको छ। १९ सदस्यीय शक्तिशाली सचिवालयमा अहिलेसम्म १० जना सदस्यहरूले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको पक्षमा बलियो ढंगले मत राखेका छन्।
विगतमा अध्यक्ष ओलीको पक्षमा खरो रूपमा उभिँदै आएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ र महासचिव शंकर पोखरेल लगायतका शीर्ष नेताहरूले समेत यस पटक वर्तमान कार्यप्रणालीबाट पार्टी अघि बढ्न नसक्ने भन्दै नेतृत्व फेरबदल र पार्टी पुनर्गठनमा जोड दिएका छन्। बैठकमा सहभागी एक नेताका अनुसार अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतले मात्र खुलेर अध्यक्ष ओलीको प्रतिरक्षा गरेका छन् भने अन्य नेताहरू मौन वा विरोधमा देखिएका छन्। बैठकको अन्तिम चरणमा आज अध्यक्ष ओलीले सदस्यहरूले उठाएका कडा प्रश्न, आलोचना र जिज्ञासाहरूको जवाफ दिने कार्यक्रम छ। आजको बैठकले अध्यक्षद्वारा प्रस्तावित कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिने, केन्द्रीय कमिटी बैठक आह्वान गर्ने तथा संविधान संशोधन र निर्वाचन समीक्षा कार्यदल गठन गर्ने सम्भावित एजेन्डा रहेको छ।





