सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा, ५१ हजारभन्दा बढी निवेदन संकलन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा १३५ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको पहिलो तीन महिना (साउनदेखि असोज मसान्तसम्म) को प्रगति विवरणमा यस्तो तथ्याङ्क उल्लेख गरिएको हो ।

भूमि समस्या समाधान समिति (ताहाचल) मार्फत वितरण गरिएका कुल १३५ थान पुर्जाहरूमध्ये भूमिहीन दलितलाई ११ थान, भूमिहीन सुकुम्बासीलाई ४१ थान र अव्यवस्थित बसोबासीलाई ८३ थान जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन, प्रमाणीकरण र नापनक्साको कार्यलाई तीव्रता दिइएको छ । समितिको सूचना प्रणालीमा यस अवधिमा समस्या समाधानका लागि कुल ५१ हजार ५ सय १७ थान निवेदनहरू दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये भूमिहीन दलिततर्फ ७ हजार ७०, भूमिहीन सुकुम्बासीतर्फ ८ हजार ८३ र अव्यवस्थित बसोबासीतर्फ ३१ हजार ३१७ रहेका छन् । विगतका आयोगहरूका अधुरा काम पूरा गर्न ५ हजार १२७ निवेदन परेका छन् ।

यसैबिच, जग्गा पहिचान र वितरणलाई व्यवस्थित बनाउन समितिले तीन महिनाको अवधिमा देशभरका विभिन्न स्थानमा गरी कुल १ हजार ९ सय ४७ कित्ता जग्गाको नाप नक्सा कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौँ उपत्यकाको समस्या समाधानका लागि समितिले भक्तपुर नगरपालिकासँग भूमिहीन र अव्यवस्थित बसोबासी व्यवस्थापनसम्बन्धी समझदारी (एमओयू) गरी लगत सङ्कलनको औपचारिक सूचना समेत प्रकाशन गरिसकेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा