चण्डीगढ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को एलिमिनेटर खेलमा एक १५ वर्षीय किशोरले विश्व क्रिकेटकै ऐतिहासिक र विष्फोटक ब्याटिङ गरेपछि सनराइजर्स हैदराबाद स्तब्ध बनेको छ। बुधबार राति भएको नकआउट भिडन्तमा राजस्थान रोयल्सले हैदराबादलाई ४७ रनले पराजित गर्दै ‘क्वालिफायर-२’ को यात्रा तय गरेको हो। राजस्थानको यो सनसनीपूर्ण जितका मुख्य नायक बने। १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी, जसको ब्याटिङ आँधी अगाडि हैदराबादका ब्याट्सम्यान र बलर दुवै निरिह बने।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २४३ रनको विशाल योगफल खडा गरेको थियो। ओपनिङमा आएका युवा स्टार वैभव सूर्यवंशीले केवल २९ बलमा १२ गक्का र ५ चौका प्रहार गर्दै ९७ रनको सनसनीपूर्ण पारी खेले। उनी मात्र ३० बलमा आईपीएल इतिहासकै सबैभन्दा छिटो शतक प्रहार गर्ने ‘युनिभर्स बोस’ क्रिस गेलको सर्वकालीन कीर्तिमान तोड्नबाट मात्र ३ रनले चुके। शतक पूरा हुन नपाए पनि वैभवले आईपीएलको एउटै सिजनमा सर्वाधिक ६५ छक्का प्रहार गर्ने गेलकै अर्को ऐतिहासिक कीर्तिमान भने आफ्नो नाममा लेखाइसकेका छन्। वैभवपछि ध्रुव जुरेलले मात्र २१ बलमा अर्धशतक प्रहार गर्दै टोलीलाई विशाल स्कोरसम्म पुर्याएका थिए।
२४४ रनको विशाल र पहाडजस्तो लक्ष्य पछ्याएको हैदराबादले सुरुवाती ओभरमा आक्रामक रूप लिए पनि राजस्थानका तीव्र गतिका बलर जोफ्रा आर्चरको कडा बलिङको अगाडि टिकिरहन सकेन। आर्चरले पावरप्लेमै ओपनर अभिषेक शर्मा (०), इशान किशन (३३) र ट्राभिस हेड (१७) लाई पेभिलियन फर्काएर हैदराबादको कम्मर भाँडिदिए। नितिश रेड्डीले ३८ रन र अरौैराले ३५ रन बनाएर केही प्रतिरोध गरे पनि हैदराबाद १९.२ ओभरमा १९६ रनमै अलआउट हुन पुग्यो। राजस्थानका लागि जोफ्रा आर्चरले ३ र बर्गरले २ विकेट लिए। अब फाइनल प्रवेशको अन्तिम टिकटका लागि शुक्रबार हुने ‘क्वालिफायर-२’ मा राजस्थान रोयल्सले गुजरात टाइटन्सको सामना गर्नेछ।





