काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै देशको पूर्वी भू-भाग नजिक विकसित भएको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो मौसमी प्रणालीको सक्रियताका कारण देशका अधिकांश भू-भागमा बादल लाग्ने र पहाडी तथा हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको जोखिम रहने देखिन्छ। आज २०८३ जेठ १४ गते बिहीबार पनि देशको मौसममा यस्तै उतारचढाव देखिने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका तराईका भू-भागहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। पूर्वी र मध्य नेपालमा यस्तो मौसमी सक्रियता रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने अत्यधिक गर्मीका कारण ‘तातो दिन’ (Hot Day) हुने सम्भावना छ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। मौसमविद्हरूले मेघगर्जन, चट्याङ्ग र उच्च पहाडी क्षेत्रको हिमपातका साथै पश्चिम नेपालमा बढ्दो गर्मीका कारण हुनसक्ने स्वास्थ्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन्।





