एमाले संविधान संशोधन सुझाव कार्यदलको सक्रियता: पूर्वमहान्यायाधिवक्ता खरेलको संयोजकत्वमा उपसमिति गठन

काठमाडौँ । नेकपा (एमाले) ले संविधान संशोधनका लागि आवश्यक सुझाव सङ्कलन र गृहकार्य गर्न गठित कार्यदलको कामलाई तीव्रता दिएको छ। पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित ‘संविधान संशोधन सुझाव कार्यदल’ को पहिलो बैठक आइतबार सम्पन्न भएको छ।

संयोजक पौडेलको अध्यक्षतामा बसेको बैठकले संविधान कार्यान्वयनका सबल र कमजोर पक्षको समीक्षा गर्दै संशोधनका लागि ठोस प्रस्ताव तयार पार्न विभिन्न निर्णयहरू गरेको छ। बैठकले संविधान कार्यान्वयनको हालसम्मको अनुभव, यसका जटिलता र पुनरावलोकनका विषयमा विस्तृत कार्ययोजना र कार्यतालिका निर्माण गर्न पूर्वमहान्यायाधिवक्ता एवं पार्टी नेता अग्निप्रसाद खरेलको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ।

गठित उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्। उक्त उपसमितिले आगामी बैठकमा सुझाव सङ्कलनको कार्ययोजना र कार्यतालिका प्रस्तुत गर्नेछ। यसै गरी, कार्यदलको सदस्य सचिवको जिम्मेवारी केन्द्रीय सदस्य महेश बर्तौलालाई दिइएको छ। कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो र पासाङ शेर्पा लगायतका नेताहरू सदस्य हुनुहुन्छ।

एमालेले संविधान संशोधनको विषयमा अन्य राजनीतिक दलहरू र उनीहरूले गठन गरेका कार्यदलहरूसँग पनि संवाद, छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान शासन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन राजनीतिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट सुझाव लिई संशोधनको प्रस्ताव तयार पारिने कार्यदलले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा