काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमा क्षेत्रमा भइरहेको अतिक्रमण र प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर संसद्मा सरकारको कडा जवाफ माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका काउचाले देशको सार्वभौमिकता र सीमा सुरक्षाका विषयमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाइन्।
सांसद काउचाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा जेठ १७ र २९ गते भारतीय सुरक्षा बल (एसएसबी) प्रवेश गरी नेपाली नागरिकहरूलाई त्रसित बनाएको उल्लेख गर्दै सरकार किन मौन बसेको भन्दै प्रश्न गरिन्। “हामीले पनि भारतको सीमा मिचेका छौँ भनेर संसद्बाटै अभिव्यक्ति दिनुभएका प्रधानमन्त्रीज्यू कता हुनुहुन्छ? के प्रधानमन्त्रीले मिचेको भनिएको त्यही सीमा खोज्न एसएसबी सुस्ता आएका हुन्?” भन्दै उनले व्यङ्ग्यसमेत गरिन्।
यसका साथै, कांग्रेसले सरकारले विभिन्न संवेदनशील घटनाका छानबिन प्रतिवेदनहरू लुकाएको भन्दै आक्रोश व्यक्त गरेको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले बुझाएको प्रतिवेदन र तत्कालीन गृहमन्त्री सुदन किराँतीको सम्पत्ति विवादका बारेमा गठित छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद काउचाले माग गरिन्। छानबिन समिति बनाउने तर प्रतिवेदन सार्वजनिक नगरी तिनै विवादित व्यक्तिलाई पुनः मन्त्री बनाउने प्रवृत्तिले विधिको शासनको उपहास गरेको कांग्रेसको ठहर छ।





