काठमाडौँ । नेपालको पछिल्लो राजनीतिक परिवर्तन र नयाँ सरकारको परराष्ट्र नीतिलाई लिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले चासोका साथ चर्चा सुरु गरेका छन्। विश्वप्रसिद्ध समाचार एजेन्सी रोयटर्स (Reuters) ले नेपालको परराष्ट्र नीति र भू-राजनीतिक सन्तुलनलाई केन्द्रमा राखेर एउटा विशेष रिपोर्ट सार्वजनिक गरेको छ।
रोयटर्सका अनुसार हालैको निर्वाचनपछि युवा पुस्ता र नयाँ शक्तिको उदयसँगै नेपालले आफ्ना दुई ठुला छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्धलाई आर्थिक विकासको मुख्य आधार बनाउन खोजेको छ। बेइजिङस्थित नेपाली दूतावासमा रोयटर्ससँग कुरा गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ सरकारले देशको द्रुत आर्थिक विकासका लागि चीनको प्राविधिक ज्ञान (Know-how) र लगानीलाई आकर्षित गर्न प्राथमिकता दिने बताएका छन्।
नेपालको नयाँ सरकारले सन्तुलित कूटनीति अगाडि बढाउन खोजेको उल्लेख गर्दै रोयटर्सले लेखेको छ, “नेपालले हरेक देशसँगको सम्बन्धलाई आ-आफ्नै महत्त्वका आधारमा मूल्याङ्कन गर्नेछ।” जसअन्तर्गत ऊर्जा निर्यातका लागि भारत र पर्यटन तथा प्रविधिका लागि चीन नेपालका मुख्य साझेदारका रूपमा हेरिएका छन्। यसका साथै देशमा इन्टरनेट सेवा विस्तारका लागि एलन मस्कको ‘स्टारलिङ्क’ र चीनको ‘हुवावे’ दुवैसँग सक्रिय छलफल भइरहेको विषयलाई पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले महत्त्वका साथ समेटेका छन्। अमेरिका, भारत र चीन जस्ता शक्तिशाली मुलुकहरूबीच नेपालमा प्रभाव जमाउने प्रतिस्पर्धा चलिरहेका बेला नेपालको नयाँ पुस्ता केन्द्रित सरकारले लिने कूटनीतिक कदमलाई विश्वले चासोपूर्वक नियालिरहेको रोयटर्सको विश्लेषण छ।





