श्रम संस्कृति पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । श्रम संस्कृति पार्टीको आकस्मिक अवरोध र विरोधका कारण सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बुधबार विनियोजन विधेयक (बजेट) माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा सम्बन्धित मन्त्रीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उक्त पार्टीले संसद् अवरोध गरेको हो।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएकी थिइन्। मन्त्रीको जवाफ सकिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रतिप्रश्न गरेका थिए। तर, प्रतिप्रश्नमाथि मन्त्रीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनले पुनः प्रश्न गर्न पाउनुपर्ने अडान राखेका थिए। सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद्को नियमावलीअनुसार प्रतिप्रश्नमाथि पुनः प्रतिप्रश्न गर्न नमिल्ने स्पष्ट पार्दै बैठकको कार्यसूचीलाई अगाडि बढाउन खोजेका थिए।

सभामुखले प्रक्रिया अघि बढाएलगत्तै सांसद साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरू वेल घेराउ गर्न पुगेका थिए। सभामुख अर्यालले संसद्को विधि र नियमावली उल्लंघन नगर्न पटक-पटक चेतावनी दिँदै सभा सञ्चालनका लागि आग्रह गरे पनि वेल घेराउ जारी रहेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरियो। यसअघि विरोध र नाराबाजीकै बिच सञ्चारमन्त्री विक्रम तिमल्सिनाले समेत आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रस्तुत गरेका थिए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा