काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी तीव्र पारेको छ. बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सो कुराको जानकारी दिएका हुन्.
सांसदहरूले उठाएका जिज्ञासाको स्पष्टीकरण दिने क्रममा मन्त्री पोखरेलले पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि मन्त्रालयले कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेको स्पष्ट पारे. वर्तमान समयको माग, वैज्ञानिक आवश्यकता र प्रविधिको विकासलाई मध्यनजर गर्दै विद्यालय शिक्षालाई अझ बढी व्यावहारिक र गुणस्तरीय बनाउन यो कदम चालिएको उनको भनाइ छ.
यसका साथै मन्त्री पोखरेलले न्यून विद्यार्थी सङ्ख्या भएका विद्यालयहरूलाई एकापसमा गाभ्ने (मर्ज गर्ने) वा तिनको तह घटाउने जस्ता संवेदनशिल विषयमा आगामी आर्थिक वर्षमा आवश्यक र ठोस कदम चालिने समेत उल्लेख गरे. संसद्मा बजेटमाथिको मन्त्रालयगत छलफल जारी रहँदा शिक्षा र खेलकुद क्षेत्रको यो योजनालाई संसद् र सरोकारवालाहरूले महत्त्वका साथ हेरेका छन्.





