काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।
अध्यक्ष ओलीले देशमा भइरहेको वितण्डाविरुद्ध सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबिच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता औँल्याए। “हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई भने उदारताका साथ समेट्ने काम गर्छौँ,” उनले भने। विगतमा पार्टी एकताका नाममा स्वार्थ र दाउपेच मात्र देखिएको भन्दै उनले अबको एकतामा पवित्रता चाहिने कुरामा जोड दिएका छन्।
यसका साथै, गत भदौ २३ र २४ गतेका घटनालाई संविधान र लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको बताउँदै ओलीले त्यसलाई युवा विद्रोह वा आन्दोलन ठान्ने भूल नगर्न कार्यकर्तालाई सचेत गराएका छन्। ती घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले सत्यतथ्य लुकाउन खोजेको आरोपसमेत उनले लगाएका छन्। पार्टीलाई थप बलियो बनाउन निष्क्रिय रहेका कमिटीहरूलाई सक्रिय बनाई पुनर्गठन गर्नुपर्नेमा उनले जोड दिए।





