काठमाडौँ । मुलुकभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम नेपालमा मनसुनको न्यून चापीय रेखा सरदरभन्दा उत्तरतर्फ सरेको तथा पूर्वी क्षेत्रमा समेत यसको असर कायम रहेका कारण देशभरको मौसम प्रभावित भएको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। देशका धेरैजसो पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राति पनि मौसममा खासै सुधार आउने छैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागसहित देशका अधिकांश हिमाली र पहाडी भेगमा साधारणतया बदली रहनेछ। रातिको समयमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको छ। लगातारको वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने र पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।




