काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न माग गर्दै उनका समर्थकहरूले काठमाडौँको माइतीघरमण्डलमा विरोध प्रदर्शन गरेका छन्। अराजक र स्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार राति भक्तपुरस्थित निज निवासबाट पक्राउ परेका प्रसाईंको समर्थनमा विभिन्न सङ्गठनहरू सडकमा उत्रिएका हुन्।
नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनका क्रममा प्रसाईंको रिहाइसँगै ८ बुँदे माग अघि सारिएको छ। प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रताको सम्मान, सामाजिक सद्भाव कायम, सुकुम्बासी समस्याको दीर्घकालीन समाधान र वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेका छन्।
यसैगरी, मिटरब्याज, लघुवित्त, बैंक तथा सहकारी पीडितहरूका समस्याको तत्काल समाधान गरिनुपर्ने र १२ बुँदे सम्झौताको पुनरावलोकन हुनुपर्ने उनीहरूको माग छ। हाल भक्तपुर प्रहरी हिरासतमा रहेका प्रसाईंको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत समर्थकहरूले दिएका छन्।




