होर्मुज जलमार्गमा नयाँ रुट खोल्ने तयारी अन्तिम चरणमा: समुद्री सेवाबापत शुल्क लिने इरानको सङ्केत

काठमाडौँ । होर्मुज जलमार्गमा व्यापारिक जहाजहरूको सुरक्षित आवागमनका लागि नयाँ अस्थायी मार्ग तय गर्ने विषयमा इरान र ओमानबिचको वार्ता अन्तिम चरणमा पुगेको छ। यसैबिच, इरानले जलमार्गमा उपलब्ध गराउने समुद्री सेवाहरूबारे समीक्षा गर्दै त्यसबापत शुल्क लिन सक्ने बलियो सङ्केत दिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले समुद्री सेवाहरू उपलब्ध गराउँदा त्यसको भुक्तानी गरिनुलाई सामान्य प्रक्रियाका रूपमा अर्थ्याएका छन्।

प्रवक्ता बघाईका अनुसार हाल जलमार्गमा प्रयोग हुँदै आएका उत्तरी र दक्षिणी मार्गहरूको विकल्पमा एक मध्यवर्ती मार्ग निर्माण गर्ने विषयमा दुई देशबिच गम्भीर छलफल भइरहेको छ। नयाँ ट्राफिक विभाजन प्रणालीमा अन्तिम सहमति नजुटेसम्म यस मार्गलाई अस्थायी रूपमा प्रयोग गरिनेछ। सुरक्षित ढुवानी सुनिश्चित गर्न, वातावरणीय मुद्दाहरू सम्बोधन गर्न र सम्भावित आक्रमणको प्रतिकार गर्ने व्यवस्था मिलाउन वार्ता रचनात्मक रूपमा अघि बढेको इरानले जनाएको छ। बघाईले होर्मुज जलमार्ग बन्द हुनुमा अमेरिका र इजरायलको ‘सैन्य आक्रामकता’ लाई मुख्य कारण मान्दै इरानमाथि थोपरिएका सर्तहरू अन्त्य भएपछि मात्र मार्ग पूर्ण रूपमा खुल्ने स्पष्ट पारेका छन्।

हाल अमेरिकासँग प्रत्यक्ष वार्ता नभए पनि मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको इरानले स्वीकार गरेको छ। अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ सैन्य आक्रमणको साटो आर्थिक दबाब बढाउने नीति अख्तियार गर्दै इरान आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको दाबी गरेका छन्। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि इरान र ओमानबिच जलमार्गको अस्थायी रुट तय गर्ने सम्झौता निकै नजिक पुगेको पुष्टि गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा