नेपाल टेलिकमको नयाँ अफर: वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएसको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले सर्वसाधारण ग्राहकहरूलाई लक्षित गर्दै वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस क्षमताको तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले साना तथा सुलभ दरका प्याकेजहरू बन्द गरिरहेका बेला टेलिकमले आम उपभोक्तालाई राहत दिने उद्देश्यले यो सहुलियतपूर्ण योजना कार्यान्वयनमा ल्याएको हो ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ‘फाइबर टु द होम’ (एनटी फाइबर) सेवाअन्तर्गत अत्याधुनिक वाइफाई–६ प्रविधिमा आधारित नयाँ तथा उच्च गतिको प्याकेजहरू आजैदेखि लागू हुने गरी सुरु गरिएको छ । यसअन्तर्गत वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबीपीएसका लागि ११ हजार ४९९ रुपैयाँ र १५० एमबीपीएसका लागि १२ हजार ९९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यसैगरी, टेलिकमले अझ उच्च गतिको आवश्यकता भएका ग्राहकका लागि २०० एमबीपीएस क्षमताको इन्टरनेट वार्षिक १६ हजार ४९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । यी वार्षिक प्याकेज लिने ग्राहकहरूलाई थप सुविधास्वरूप दैनिक ८०० देखि १००० एमबीसम्मको मोबाइल डाटा पूर्ण रूपमा निःशुल्क प्रदान गरिने व्यवस्था गरिएको छ ।

नयाँ प्याकेज जडान गर्न चाहने ग्राहकहरूलाई प्रोत्साहित गर्न सामान्यतया लाग्ने ५०० रुपैयाँको जडान शुल्कसमेत पूर्ण रूपमा मिनाहा (निःशुल्क) गरिएको टेलिकमले जनाएको छ । यस आकर्षक योजनाले सर्वसाधारण नागरिक, विद्यार्थी तथा साना व्यवसायीहरूलाई न्यून लागतमै गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्राप्त गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा