काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक ‘सम्मेलन’ का रूपमा अगाडि बढाउने भएको छ। पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको विधान र अदालती प्रक्रियालाई मध्यनजर गर्दै विधानसम्मत रूपमा सम्मेलनको स्वरूप दिइएको हो।
पार्टी विधानअनुसार महाधिवेशनले नेतृत्व चयन गर्ने र सम्मेलनले नीतिगत विषयमा छलफल तथा निर्णय गर्ने व्यवस्था रहेको छ। भेलाले असन्तुष्टि मात्र पोख्ने भए पनि सम्मेलनमार्फत औपचारिक रूपमा नीतिगत निर्णय गर्न सकिने भएकाले कार्यक्रमको स्वरूप परिवर्तन गरिएको जनाइएको छ। यस सम्मेलनबाट पार्टीको आगामी कार्यदिशा र वैचारिक स्पष्टताका लागि पाँचवटा महत्त्वपूर्ण नीतिहरू पारित गर्ने तयारी गरिएको छ।
महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला तथा क्षेत्रीय तहका सभापतिहरूको व्यापक सहभागिता रहेको यस कार्यक्रमले नेतृत्व परिवर्तनभन्दा पनि पार्टीको नीतिगत सुधार, विचारको स्पष्टता र आन्तरिक सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ।




