कांग्रेस इतर समूहको भेलामा पाँच प्रतिवेदन पेस: भेलालाई नीतिगत सम्मेलनमा बदल्न प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा पार्टीको नीति, विधान र समसामयिक राजनीतिसँग सम्बन्धित विभिन्न पाँचवटा महत्त्वपूर्ण प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ। राजधानीमा जारी तीनदिने भेलाअन्तर्गत शीर्ष नेताहरूले छुट्टाछुट्टै विषयगत कार्यपत्र तथा प्रस्तावहरू प्रस्तुत गरेका हुन्।

भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक, डा. प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिकसम्बन्धी प्रस्ताव पेस गरेका छन्। सो क्रममा नेता निधिले भेलालाई पार्टीको विधानसम्मत बनाउन औपचारिक नीतिगत सम्मेलनमा परिणत गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। प्रस्तुत सबै प्रतिवेदनहरूमाथि सातै प्रदेशका प्रतिनिधिहरूबिच समूहगत रूपमा गहन छलफल भइरहेको र प्राप्त सुझावहरूलाई समेटेर निष्कर्ष निकालिने जनाइएको छ।

पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भइरहेको भेलाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले गरेका थिए। स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाको प्रमुख आतिथ्यमा सुरु भएको यस भेलाले पार्टीभित्रको पछिल्लो आन्तरिक राजनीतिक परिस्थिति, विशेष महाधिवेशन र अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा आगामी साझा रणनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा