मौसम अपडेट: आज तीन प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना, देशभर बदली रहने

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (बिहीबार) देशभरको मौसममा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले देशका पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा तीनवटा प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

त्यसैगरी आज राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भेगमा आंशिक बादल लाग्नेछ। रातिको समयमा हिमाली भू-भागका थोरै स्थान र पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनेछ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन महाशाखाले अपिल गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा