काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिका बैठकहरू आज एकैदिन बस्दै छन्। प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकैसाथ विभिन्न महत्वपूर्ण विषय, विधेयक तथा आयोजनाहरूमाथि छलफल गर्न संसदीय समितिहरू सक्रिय भएका हुन्।
आज बस्ने बैठकहरूमध्ये अर्थसमितिमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ, जसमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायहरूसँग छलफल हुँदैछ। यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा प्राप्त उजुरीहरूमाथि छलफल हुनेछ भने कृषि तथा प्राकृतिक स्रोत समितिमा कृषि उत्पादन नघट्ने गरी जैविक मलको प्रवर्द्धन र रासायनिक मलको प्रयोग घटाउने विषयमा उत्पादकहरूसँग परामर्श गरिनेछ।
यसैगरी पूर्वाधार विकास समितिमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाबारे समीक्षा गरिनेछ भने राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीबारे छलफल हुनेछ। यसका साथै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि, सार्वजनिक लेखा समितिमा वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा र विधायन व्यवस्थापन समितिमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीहरूसँग छलफल हुने कार्यसूची रहेको छ।




