काठमाडौँ । चुनावी धक्कापछि नेकपा एमालेभित्र सुरु भएको पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बन्दै गएको छ। पार्टीका उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा उपमहासचिव योगेश भट्टराईलगायत बहुसंख्यक पदाधिकारीहरू पुनर्गठनको पक्षमा उभिए पनि अध्यक्ष केपी शर्मा ओलीलाई कसरी विस्थापन गर्ने र उनको विकल्पमा कसलाई नेतृत्व दिने भन्ने विषयमा ठोस सहमति जुट्न सकेको छैन।
पार्टीभित्र बढ्दो असन्तुष्टि सम्बोधन गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलले देशभरबाट सुझाव संकलन गरी ११औँ महाधिवेशनबाट निर्वाचित कमिटी भङ्ग गरेर विशेष महाधिवेशनमार्फत ओलीले निकास दिनुपर्ने मस्यौदा तयार पारेको थियो। तर, करिब ८० प्रतिशत सुझाव पुनर्गठनको पक्षमा आएपछि अध्यक्ष ओलीले उक्त प्रतिवेदन नै अस्वीकार गर्दै पुनर्लेखन गर्न निर्देशन दिएका छन्। ओलीले पार्टीमा पुनर्गठन नभई ‘पुनर्जागरण’ आवश्यक रहेको दाबी गर्दै आफू महाधिवेशनबाट निर्वाचित भएकाले कुनै पनि हालतमा नेतृत्व नछाड्ने अडान दोहोर्याउँदै आएका छन्।
यसैबिच, सचिवालय बैठक बोलाउन माग गर्दै भदौ ४ गते अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ओलीले ‘मलाई हटाउन सचिवालय बैठक किन चाहियो?’ भन्दै रुखो जवाफ दिएपछि नेताहरू नाजवाफ बनेका थिए। त्यसलगत्तै विराटनगर पुगेका महासचिव पोखरेलले नेतृत्व परिवर्तन विधान र संस्थागत प्रक्रियाबाट मात्र हुने भन्दै अहिले नै नेतृत्व बदल्नुपर्ने अवस्था नरहेको अभिव्यक्ति दिएपछि उनीहरू पुनर्गठनको मुद्दाबाट पछि हटेको चर्चा सुरु भएको छ। यद्यपि, पुनर्गठन पक्षधर नेताहरू भने विधि र प्रक्रियाको कुरा गर्नु स्वाभाविक भएको र पुनर्गठनको मुद्दाबाट कोही पनि पछि नहटेको दाबी गर्छन्।




