काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा पार्टी असफल भएको स्वीकार गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय मूल रणनीति बिर्सेर सत्ता समीकरण बनाउने र ढाल्ने खेलमा मात्र केन्द्रित हुनु गम्भीर भुल भएको बताएका हुन्।
‘हामी बढी कार्यनीतिमा अल्झियौँ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो,’ प्रचण्डले भने, ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने स्पष्ट रणनीति थियो।’ त्यसको प्राप्तिका निम्ति कार्यनीति बनाएर अघि बढ्दा जनयुद्ध सफल भए पनि पछिल्लो समय रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा पार्टी चक्करमा फसेको उनले स्पष्ट पारे।
पार्टीका कुरा किताब र भाषणमा मात्र सीमित हुँदा जनतासँगको सम्बन्ध कमजोर बन्दै गएको र यही नै मुख्य त्रुटि भएको उनको स्वीकारोक्ति थियो। अर्कातर्फ विरोधी शक्तिहरू भने नेपालबाट कम्युनिस्ट आन्दोलनलाई कसरी समाप्त पार्ने भन्ने रणनीतिमा केन्द्रित भएको उल्लेख गर्दै प्रचण्डले अब सत्ताकेन्द्रित खेलबाट माथि उठेर जनताका मुद्दा र वामपन्थी आन्दोलनको पुनर्गठनमा लाग्नुपर्नेमा जोड दिए।




