मौसम अपडेट: आज कोशी र बागमतीमा ‘धेरै भारी’ वर्षाको सम्भावना, देशभर सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (सोमबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने तथा रातिको समयमा कोशी र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। यसैगरी देशको पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भेगका केही स्थानमा हिमपात र वर्षा हुनेछ। यस्तै मधेश, कोशी, बागमती र गण्डकीका तराई भू-भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्र तथा बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थान र गण्डकी तथा लुम्बिनीका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा