रसुवा बाढीका मृतकको डीएनए पहिचानमा सघाउन भारतीय फरेन्सिक विज्ञ टोली काठमाडौँमा

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचान तथा डीएनए नमुना विश्लेषणमा सहयोग पुर्‍याउन भारतबाट फरेन्सिक विज्ञ टोली नेपाल आइपुगेको छ। बाढीका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र अधिकांश शवहरू क्षतविक्षत तथा सडेगलेको अवस्थामा भेटिएकाले वैज्ञानिक विधिबाट पहिचान गर्न भारतीय टोलीले नेपाली प्राविधिकहरूलाई सघाउने भएको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार नेपाल आइपुगेको भारतीय फरेन्सिक विज्ञ टोलीले नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेर नेपाली विज्ञहरूसँग आवश्यक छलफल तथा परामर्श गरेको छ। टोलीले सङ्कलन गरिएका डीएनए नमुनाहरूको वैज्ञानिक विश्लेषण र शव पहिचान प्रक्रियालाई तीव्रता दिन प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

बाढीका कारण ज्यान गुमाएका र पहिचान खुल्न नसकेका नागरिकहरूको डीएनए परीक्षणमार्फत छिटो पहिचान गरी आफन्तलाई जिम्मा लगाउने कार्यमा यसले सहयोग पुग्ने विश्वास गरिएको छ। राजदूत श्रीवास्तवले नेपालमा जारी राहत, उद्धार तथा विपद् व्यवस्थापनका प्रयासमा भारत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा