काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (मङ्गलबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पहाडी भू-भागका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेष गरी देशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थान तथा पहाडी भेगका केही स्थानमा हिमपात र वर्षा हुनेछ। यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




